| GWS मेडिकल स्कीमको एउटा सफल कथा - झण्डै एउटा चमत्कार जस्तै लाग्ने घटना |
लिलादेवी उपचारको क्रममा( Click to Enlarge) १५ वर्षपछि लिलाकुमारी फेरि हिंड्न सक्ने भईन् - ६७ वर्षकी वेल्फेयर पेन्सनर विधुवी लिलाकुमारी नेवारको घर भोजपूर जिल्लाको बोया गा वि स मा पर्छ । उनको श्रीमान IA ७१९१८ रिक्रुट मनकुमार नेवार भुतपूर्व ६ गोर्खा राइफल्स् धेरै वर्षअघि नै बितेका थिए । उनका धेरैजसो नजिकका आफन्तहरूले धेरै वर्षअधि नै गाउं छाडिसके । उनको ठूलो छोरा र छोरीहरू पनि आ-आफ्नो घर गरेर सोही गाउं मै बस्छन् । लिलाकुमारी कान्छो छोरा र उसको परिवारसंग बस्छिन् |
 |
पन्ध्र वर्षअघि भिरालो बारीमा काम गर्दाखेरी लिलाकुमारी लडेकि थिइन् र उनको देब्रे खुट्टा भांचिएको थियो । त्यसपछि गाउंबाट तीन दिन टाढा पर्ने जिल्ला अस्पतालमा ल्याएर प्लास्टर गरिएको थियो । प्लास्टर गरेर डिस्चार्ज गर्दा उनलाई १० हप्तापछि फेरि अस्पतालमा आउन भनिएको थियो । गाउमा फर्केको केहि हप्तापछि उनलाई प्लास्टरले ज्यादै असजिलो भयो रे अनि दुखाई पनि भयो रे । उनी अस्पतालमा फर्कन सकिनन् र आफैले प्लास्टर च्यातिन् । प्लास्टर खोलेपछि घाउ झन् झन् पाक्दै गयो र भांचिएको हाडको टुक्रा नै बाहिर निस्कियो । त्यसपछि बिस्तारै घाउ त सञ्चो भयो तर भाचिएको खुट्टा सञ्चो भएन । त्यसपछि उनले पुरै जिवन पिडामा बिताइन् र उनलाई दिशा पिशाब जान पनि अरुको सहयोग नभै नहुने भयो । उनले आफ्नो यो सबै अवस्था भाग्यको लेखन्ता मानेर दिन गुजारिन् । घस्रेर हिडेको तेह्र वर्षपछि उनी वेल्फेयर पेन्सन बुझ्न AWC भोजपूरमा आउदा GWS को तत्कालिन घुम्ति डाक्टर डा. दिपक मल्ललाई भेटिन् । उनको खुट्टाको उपचार हुन सक्ने र फेरि उनि हिंड्न सक्ने सम्भावना रहेको कुरा डा. दिपकले बताउनु भयो । उहांले उपचारको बारेमा प्रष्ट पार्दै त्यसको लागि काठमाण्डौ जान सल्लाह दिनुभयो ।
|
 |
उपचारपछि घर फर्कनको लागि केही रकम हस्तान्तरण गर्दै SAWO बाग्मती( Click to Enlarge) त्यसपछि आफन्तहरूसंग सल्लाह गरी कान्छो छोरासंग उनि डिसेम्बर २००६ मा काठमाण्डौ आईन् र AWC बाग्मतीस्थित काउन ब्लकमा बस्न थालिन् । तत्कालिन सिनियर मेडिकल प्राक्टिस्नर डा. डि.बि. श्रेष्ठले उनलाई जांच गर्नुभयो । उनको बांया खुट्टा दांयाभन्दा ४-५ इञ्च छोटो भएको थियो । उनलाई शिक्षण अस्पतालको हाड जोर्नी विभागमा पठाइयो । त्यहां अर्थोपेडिक सर्जन डा. गोविन्द के.सी.ले जांच गर्नुभयो र जनव्री २००७ देखि दिर्घकालिन उपचार शुरु भयो । अर्थोपेडिक सर्जनले उनको बाया खुट्टा लम्ब्याउनको लागि १० महिनासम्म स्टिल रड ब्रासेस लगाइ दिनुभयो । सो स्टिल रड ब्रासेस निकालेपछि भांचिएको हाड जोडिनको लागि खुट्टालाई कत्ति पनि नचलाओस् भनेर लामो डाइनाकास्टमा राखियो । यसरी अहिले उनि १५ वर्षछि हिड्न सक्ने भएकि छिन् । यो सफलताको लागि उनको धैर्यता, डाक्टरहरूको टोली र AWC बाग्मतीका स्टाफहरूलाई धेरै धन्यवाद छ । उनि अहिले डिस्चार्ज भएर घर फर्कदैछिन् र ६ महिनापछि फेरि परिक्षण गराउन काठमाडौं आउनेछिन् । |
 |
करिब २ वर्षसम्म संगै बसेर छुट्टिदा AWC बाग्मतीका स्टाफहरूलाई नरमाईलो त लागेको छ नै तर पनि आफ्नै खुट्टाले हिड्न सक्ने भएर आफ्नो गाउं र्फकन सकेकोमा सारै खुशि पनि लागेको छ । यसै अवसरमा उनको लागि सानो विदाई कार्यक्रम पनि गरियो र हवाइजहाजद्वारा उनको गाउंदेखि सबभन्दा नजिक पर्ने एअरपोर्टसम्म पुग्ने व्यवस्था मिलाइयो । जाने बेलामा उनले ६ महिनापछि भोजपूरदेखि खुट्टाले हिंडेरै काठमाण्डौ आउने र AWC मा आएर सिनियर AWO साहेबसंग ५० मिटरको दौडमा प्रतिस्पर्धा गर्ने बाचा समेत गरिन्
- अनरेरी मेजर ललितबहादुर गुरुङ, सिनियर AWO बागमती |
 |